अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च दिने प्रावधान हटाउन निर्देशन

628
views

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च र अन्य सुविधा दिने प्रस्तावित विधेयकको प्रावधान हटाउन निर्देशन दिएको छ ।

समितिको आइतवार बसेको बैठकले संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट उक्त प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको हो ।

गलत सन्देश जाने गरी आएको सो प्रावधान विधेयकबाट हटाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

सो विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले अवकाश पाएका कर्मचारीलाई पनि उपचार खर्च उपलब्ध गराउने प्रावधानप्रति आपत्ति जनाएका थिए ।