राजाबिना देश चल्दैन-प्रधान

3445
views

ललितपुर । पुर्व राजा ज्ञानेन्द्र शाहको ७३ औँ जन्मोत्सवमा राजाविना देश नचल्ने बताइएको छ । गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालद्वारा ललितपुरको पाटन कृष्णमन्दिरमा आयोजित जन्मोत्सवका क्रममा वक्तहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि द्वारीकामान सिंह प्रधानले अहिलेको परिवेशमा राजाबिना यो देश चल्न नसक्ने ठोकुवा गरे । प्रधानले भने ‘जसरी एउटा घरमा अभिभावक नभएपछि परिवारहरु टुहुरो हुन्छन, त्यस्तै यो देशका जनताहरु राजा बिना टुहुरो भएको बताए ।

त्यस्तै विश्वहिन्दु महासंघका महासचिव अस्मिता भण्डारीले आम जनता हिन्दू राज्यकै पक्षमा रहेको बताउँदै देशमा ८१ प्रतिशत भन्दा बढी मानिस ॐ कार भित्र नै रहेकोले हिन्दु धर्मको संरक्षक आवश्यक रहेको बताईन् ।

उनले हिन्दूहरुको प्रमुख संगठन विश्व हिन्दू महासंघ पनि नेपालमा हिन्दू राज्य फर्काउने अभियानमा लागेको बताउनु भयो ।

त्यस्तै विशेष प्राज्ञिक तथा विश्लेषक डा. केबि रोकायाले विभिन्न भौगोलिक, जातिक तथा सामाजिक सद्भावलाई बिखण्डन गराएर नेपाल र नेपालीलाई टुक्राउन खोजिरको बताउँदै राष्ट्रको पहिचानलाई मेटाउन नहुने बताए ।

रोकायाले शाह बंशिय राजसंस्था, नेपाली सेना र हिन्दु धर्मले नेपाल देश अडिएको बताउँदै नेपालको इतिहास र सम्प्रदायको नाश गरि देशको बिनाश गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा गोरक्ष पिठाधिस योगि बलभद्र नाथ,बैकटेश्वर मन्दिर पिठाधिस स्वामि पदमधर, बरिष्ठ अधिवक्ता विष्णु भट्टराई, पुर्वमन्त्रि प्रकाश चित्रकारलगायतले शुभकामना दिदै राष्ट्रियता, सार्वभौमिकता र राष्टिय एकता कायम गर्न हामी सबै एक जूट हूनू पर्ने बताएका थिए ।

त्यसैगरी पूर्व राजा शाहको दिर्घायुको कामनाका लागि कृष्ण मन्दिर अगाडि दिप प्रज्वलन गरिएको संस्थाका सचिब सागर न्यौपानेले बताए । दिप प्रज्वलन सहित भएको कार्यक्रमको सभापत्वि अनिल खड्गिले गरेका थिए ।