एनिमेसन स्टुडियोमा भएको आगजनीमा २४ को मृत्यु

615
views

जापान । जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । आगजनिमा दर्जनौँ घाइते भएका छन् ।

सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रूपमा गरिएको प्रहरीको भनाइ छ । आगजनीको कारण प्रष्ट भएको छैन् । सो आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरू भाग्न असफल भएकाले मृतकको संख्या अझ बढ्ने आशंका गरिएको अधिकारीहरूको भनाई छ ।

भुइँ तला र पहिलो तलामा १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको र उनीहरूमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागका अधिकारीहरूले जानकारी दिएका छन् । सो आगजनीमा मारिएका प्रायः व्यक्ति सो कम्पनीमा कार्यरत रहेका बताइएको छ ।

दोस्रो तलामा रहेका व्यक्ति पनि भाग्न असफल भएको बताइएको छ । सरकारी अधिकारीहरूका अनुसार यस आगजनीमा परी ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको छ । कम्पनीमा करिब ७० जना कार्यरत रहेको बताइएको छ ।

प्रहरीले एक शंकास्पद अधबैंसे व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । उनको स्थानीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । ती व्यक्तिले पेट्रोलजस्तो देखिने तरल पदार्थ लिएर भवनभित्र प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।