सालिकराम पुडासैनीकी पत्नी सम्झनाले दिईन् किटानी जाहेरी

920
views

काठमाडौं । पत्रकार सालिकराम पुडासैनीकी पत्नी सम्झना पुडासैनीले आइतबार सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता गरेकी छिन् ।

पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौंमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

चितवनमा झुन्डिएको अवस्थामा भेटिएका पत्रकार सालिकराम पुडासैनीकी पत्नी सम्झना पुडासैनीले आइतबार परिसरमा पुगेर आत्महत्यामा दुरुत्साहन मुद्दामा तीनैजनाविरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै जाहेरी दिएकी हुन् । उनले काठमाडौंमा दर्ता गरेको जाहेरी चितवन पठाउने तयारी भइरहेको बोगटीको भनाइ छ ।

लामिछानेसहित तीनविरुद्ध चितवनमा आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार दिउँसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो ।

पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ ।