सुर्खेत, १८, भदौ । नेपाली सेनाले औपचारिक रुपमा सुर्खेतमा पश्चिम एयर वेश सञ्चालनमा ल्याएको छ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सुर्खेत स्थित नेपाली सेनाद्वारा स्थापना भएको पश्चिम एयर वेशको शुभारम्भ गरेका हुन् ।
नेपाली सेनाले पश्चिम र पूर्वमा एयर वेश स्थापना गरि काठमाण्डौबाट मात्रै प्रदान गर्दै आएको हवाई सुविधालाई क्रमशः मुलुकभर विस्तार गर्ने नीतिअनुसार नेपाली सेनाले आजबाट सुर्खेत स्थित पश्चिम एयर वेशको शुभारम्भ गरि उक्त कार्यको थालनी गरेको हो ।
सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेत स्थित पश्चिम एयर वेशमा ह्याङ्गगर निर्माण कार्यको थालनी भईसकेको र हाल एम आई –१७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गरी हवाई सेवाको पहुँच वृद्वि गर्ने कार्यको सुरुवात गरिएको छ ।
नेपाली सेनाले आगामी १० बर्षभित्र हवाई साधनमा थप गरि दोस्रो लाईन मर्मत सहितको सेवा प्रदान गर्ने उद्देश्य रहेको जनाएको छ ।
नेपाली सेनाको हवाई पारवहन क्षमतालाई उपत्यका बाहिर समेत विस्तार गरि सेवा प्रदान गर्ने कार्यक्रम अन्तरगत पश्चिम एयर वेशले पश्चिम तथा सुदुर पश्चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने जनाएको छ ।
                










