वैज्ञानिक प्रविधिको प्रयोगमा जोड दिन राष्ट्रपतिको आग्रह

690
views

काठमाडौं, ५, असोज । राष्ट्रपति विद्या भण्डारीले बैज्ञानिक खोज तथा अनुसन्धानबाट प्राप्त ज्ञान तथा नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गरेकी छन् । काठमाडौंमा वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुईतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै राष्ट्रपतिले प्रतिभाको विकास, पहिचान र उजागरमा राज्यका सबै निकायले ध्यान पुर्याउने विश्वास ब्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाल परापूर्व कालदेखि नै खोज, अनुसन्धानको थलोको रुपमा रहेको स्मरण गराउँदै त्यस्ता खालको ज्ञान र विज्ञानको विकास गर्न सम्वद्ध निकायहरु उत्तिकै अग्रसर हुनुपर्नेमा पनि जोड दिइन ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धान क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले प्रधानमन्त्री प्रतिभा पुरस्कारको व्यवस्था गरेको बताए ।

वरिष्ठ चिकित्सक रुईतलाई ५ लाख नगदसहित सो पुरस्कार प्रदान गरिएको छ । यस्तै कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा वैज्ञानिकद्धय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही नगद २ लाख ५० हजारसहितको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता’ पुरस्कार प्रदान गरेकी थिइन् ।