ममिल्लापुरममा सी–मोदी

444
views

नयाँ दिल्ली । दुई दिने भ्रमणका क्रममा भारत आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार झन्डै पाँच घण्टा सँगै बिताएका छन् । चेन्नइ विमानस्थलमा दिउँसो २ बजे उत्रिएका सीलाई विमानस्थलमा तामिलनायडुका राज्यपाल वनवारीलाल पुरोहितले स्वागत गरेका थिए । विमानस्थलमै साँस्कृतिक कार्यक्रम आयोजना गरेर सीको पारम्परिक तरिकाले स्वागत गरिएको थियो ।

त्यहाँबाट सी ४ बजे करिब ५८ किलोमिटर दक्षिणको मामिल्लपुरम पुगे। मामिल्पुरममा सीलाई दक्षिण भारतीय पारम्परिक पहिरनमा मोदीले स्वागत गरे । मोदीले सीलाई मामिल्लपुरमका ऐतिहासिक, साँस्कृतिक धरोहरको व्याख्या गर्दै अवलोकन गराए । उनले सीलाई महाभारतका पाँच पाण्डवको नाममा बनेको ‘पञ्च रथ’ को अवलोकन गराए। कुन्ती पुत्र अर्जुनले तपस्या गरेको स्थान ‘अर्जुनको तपस्या स्थल’ देखाए। मोदीले सीलाई सबै स्थलबारे आफैंले व्याख्या गरेका थिए । गणेश मन्दिरको दर्शनपछि दुवै शक्तिशाली नेता पञ्च रथ मन्दिरमा केही बेर बसे र कुराकानी गरे ।

भेट एकदमै अनौपचारिक थियो। सी पनि औपचारिक पोशाकमा थिएनन्। औपचारिक भ्रमणमा टाईसूटमा देखिने सी मामल्लपुरमा पेन्टसर्टमै घुमेका थिए । ऐतिहासिक, सांस्कृतिक संरचना, ढुँगामा कुँदिएका सदियौं पुराना मूर्तिकलालाई सीले पनि बडो चाख दिएर अवलोकन गरेको देखियो ।

चीन र भारत दुवै सांस्कृतिक रूपमा सम्पन्न मुलुक हुन्। मोदीको पहिलो बुआन शिखर वार्ताका क्रममा चीनका राष्ट्रपतिले पनि आफ्ना धरोहरको अवलोकन गराएका थिए ।

पुरातात्विक सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनमा चीन निकै गभ्भीर छ। भारतले पनि ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका धरोहरलाई विश्वसामू पर्यटकीय प्रवद्र्धनका लागि उपयोग गर्ने गरेको छ । गणेश मन्दिरको अवलोकनपछि सी र मोदी शोर मन्दिरमा पुगे । जहाँ दक्षिण भारतको कला र संस्कृति झल्किने परम्परागत नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । मोदीले सीसँगको अनौपचारिक वार्ताका लागि दक्षिण भारतको मामल्लपुरम नै छनोट गर्नुको पछाडि यो पनि दुई-तीन कारण रहेको विश्लेषण गरिएको छ ।

पहिलो दक्षिण भारतमा भारतीय जनता पार्टीको राजनीतिक पकड कमजोर छ। पछिल्लो समयमा हिन्दीलाई राष्ट्रिय भाषाको रूपमा बनाउने सरकारले गरेको घोषणाले यो क्षेत्रका राजनीतिक दल झनै बिच्किएका थिए। जसको भर्पाइ स्वरूपमा मोदीले अमेरिकाको ह्यूस्टनमा आयोजना गरिएको हाउडी मोदी कार्यक्रममा तामिल भाषामा समेत सम्बोधन गरेका थिए। अहिले सीको भ्रमणका लागि यही क्षेत्र रोजेर उनले राज्यका द्रबिडियन दलहरूलाई भाजपा नेतृत्वको सरकार तामिलनायडु राज्यको विकासका लागि गम्भीर छ भन्ने सन्देश दिन खोजेको हुन सक्ने विश्लेषण गरिएको छ।

दोस्रो दक्षिण भारत कला र संस्कृतिमा निकै सम्पन्न छ। विश्व सम्पदा सूचीमा सूचीकृत शोर मन्दिर यहीं छ। त्यसका अलावा कदम कदममा विश्वका पर्यटकलाई आकर्षित गर्न सक्ने सांस्कृतिक सम्पदा छन् । विश्वका सबैभन्दा शक्तिशाली राष्ट्रका प्रमुखले यी सम्पदाको अवलोकन गर्दा विश्वमै प्रचार प्रसार हुने विश्वास पनि गरिएको छ । दक्षिण भारतको सांस्कृतिक धरोहर विश्वसामू राख्ने अवसरको रूपमा पनि मोदीले प्रयोग गरेको हुन सक्ने विश्वास गरिएको छ ।

तेस्रो, दक्षिण भारतमा पल्लव वंश सत्तामा आएपछि चिनियाँसँग व्यापारिक र रक्षा सम्बन्ध गाँसेको इतिहास रहेको अध्ययनहरूमा पाइएको छ । पल्लव वंशका राजा नरसिंह वर्मन प्रथमले एउटा शक्तिशाली राष्ट्रको हैसियतमा चीनसँग तिब्बतमाथि नजर राख्न सहयोग गर्ने सहमति गरेका थिए ।

चीनका एक प्रसिद्ध बौद्ध भिक्षुमध्येका एक बोधी धर्म पल्लव राजाको तेस्रो पुत्र रहेको पनि मानिन्छ । उनले काँचीपुरमको मामल्लपुरमदेखि चीनसम्मको यात्रा तय गरेका थिए ।

चौथो र मुख्य कुरा २००० वर्षअघि यो सहरबाट भारत र चीनबीच द्धिपक्षीय व्यापारको बिजारोपण भएको मानिन्छ । आज द्धिपक्षीय व्यापार ६० अर्ब डलर पुगेको छ। अहिले तामिलनायडु राज्य चिनियाँ लगानीको केन्द्र पनि हो । थुप्रै चिनियाँ औद्योेगिक कलकारखाना यही क्षेत्रमा छन् । अहिले चीन भारतको दोस्रो ठूलो व्यापारिक साझेदार बनेको छ भने भारत दक्षिण एसियामा चीनको सबैभन्दा ठूलो व्यापारिक भागीदार हो ।

एक हजार भन्दाबढी चिनियाँ कम्पनी भारतमा कारोबार गरिरहेका छन्। चीनको भारतमा ८ अर्ब डलर बराबरको लगानी छ । २ लाख भन्दाबढी भारतीयलाई रोजगारी दिएको छ । यसैगरी चीनमा दुई तिहाइ भन्दाबढी भारतीय कम्पनी लगातार मुनाफामा काम गरिरहेका छन् । तर भारत र चीनबीचको व्यापारमा भारतले उच्च व्यापार घाटा बेहोरिरहेको छ । यी दुई मुलुकबीच बेलाबेलामा अरुणाञ्चल क्षेत्रमा सीमा विवाद र पाकिस्तानलाई समर्थन देखाइरहने चीनबीच चिसोपना पनि आइरहेको छ ।

पछिल्लो समयको कश्मीरको विशेषाधिकार खारेजीका कारण पाकिस्तानले मागेको समर्थन र लद्दाकलाई अलग राज्य बनाउँदै केन्द्र शासनअन्तर्गत ल्याउने भारतको निर्णयमा चीनको आपत्ति रहेको देखिएको छ । यो विषयमा मोदीले कुरा नहुने पहिले नै बताइसकेका छन् । तर सीले कुरा उठाए मोदीले अन्य मुलुकलाई ब्रिफिङ गरेजसरी नै बताउने पनि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका थिए। सीको यो औपचारिक भ्रमण नभएको प्रवक्ताले बताए ।

यद्यपि शनिबार बिहान १० बजे ताज फिसरम्यान्स कोभ रिसोर्टमा मोदी र सीबीच एक्लाएक्लै करिब एक घन्टा कुराकानी हुने कार्यक्रम रहेको छ । १० बजेर ५० मिनेटमा उच्चस्तरीय प्रतिनिधि मण्डलसहित छलफल हुने कार्यक्रम छ । दिवा भोजसम्म चल्ने यो छलफलमा द्धिपक्षीय व्यापार, आतंकवाद र सीमा विवादका विषयमा छलफल हुने भारतीय पक्षको भनाइ छ ।

एक घन्टाको छलफलपछि मोदीका तर्फबाट आयोजना गरिएको लन्चमा सी सहभागी हुनेछन् । त्यसको एक घन्टापछि अर्थात् १२ बजेर ४५ मिनेटमा चिनियाँ राष्ट्रपति चेन्नइ एयरपोर्टका लागि प्रस्थान गर्नेछन् । त्यहाँबाट १ बजेर ३० मिनेटमा उनी नेपालको राजकीय भ्रमणका लागि काठमाडौंतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । अन्नपूर्ण पोष्ट  annapurnapost.com/news/138507