१७१ राष्ट्रका संसद रहेको आईपीयू बैठक सर्बियामा

तिमिल्सिनाको नेतृत्वमा संघीय संसदको टोली सर्बिया प्रस्थान

1338
views

काठमाडौं, २७, असोज । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा सहभागी हुन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्डल सर्बियाको बेलग्रेडतर्फ प्रस्थान गरेको छ ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यहरु शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ भने उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी रहनुभएको छ । त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी हुनुहुन्छ ।

उक्त सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले अन्तराष्ट्रिय कानूनको सुदृढीकरणमा सामान्य बहस संसदीय भूमिका, संयन्त्र र क्षेत्रीय सहयोगको योगदानमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी लोकतन्त्र र मानव अधिकार सम्बन्धी विश्वव्यापी स्वास्थ्य कवरेज प्राप्त गर्ने स्वास्थ्य अधिकार सुनिश्चित गर्न संसदको भूमिका विषयमा प्रतिनिधिमण्डलको सहभागीता रहनेछ ।

उक्त कार्यक्रममा शान्ति तथा अन्तराष्ट्रिय सुरक्षा, दिगो विकास, वित्त र व्यापार र संयुक्त राष्ट्र संघ सम्बन्धी स्थायी समिति सम्बन्धी समितिहरुको प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

महिला सांसद सदस्यहरुको १३ अक्टोबरमा हुने बैठकमा प्रतिनिधिसभा सदस्य इन्दुकुमारी शर्माले भाग लिनुहुनेछ भने अक्टोबर १४ मा हुने युवा सांसद सदस्यहरुको बैठकमा नेपालको तर्फबाट राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले भाग लिनुहुनेछ ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले संसदका महासचिवहरुको संघको बैठकमा भाग लिनुहुने कार्यक्रम रहेको छ ।

नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य रह्को आईपीयूको १४१ औं सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ ।