वेपत्ता १३ जनाको उद्धारमा हेलिकप्टर पठाउने तयारी

404
views

जुम्ला, ३०, मंसिर । जडिवुटी संकलन गर्न गएर सम्पर्क विहीन भएका तिला गाउँपालिका ९ जुम्ला ढिपुगाउँका १२ जनाको उद्धारको लागि हेलिकप्टरबाट उद्धार गरिने भएको छ । उनीहरुको उद्धार गर्न सुर्खेतमा हेलिकप्टर उडान गर्ने तयार भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यद्यपी स्थान पत्ता नलागेमा वडाध्यक्ष शेरबहादुर रोकायालाई सदरमुकामबाट उद्धारटोली सँगै पठाउने तयारीका लागि जिल्ला प्रशासनमा राखिएको र उद्धार टोली तयारीमा बसेको उहाँले जानकारी दिनुभयो ।

हेलिकप्टर चाडैँ उडानका लागि अगाडि बढाउन प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सबै प्रक्रिया पुरा गरेको छ । मन्त्री नरेश भण्डारीका अनुसार सुर्खेतमा भिजिविलिटि कम भएकाले हेलिकप्टर उडाउन सकिरहेको छैन् । तर उडानको लागि तयार भईरहेको छ । सकेसम्म क्षती कम गराउन चाडैँ उद्धारको लागि गृहमन्त्रालयलाई चौतर्फि पहल भएको छ । चाडैँ उद्धार गर्नका लागि चौतर्फी पहल भईरहेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुभयो ।

यहाँको शेरा फूलबारी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका उहाँहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार ‘सेतक चिनी, भुल्ते लगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए ।

बोहराका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका त्यही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको ज्यान गएको अध्यक्ष बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार तिला गाउँपालिका ६ को नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको ज्यान गएको र अन्य चार जना गोठाला भने सकुशल फर्केका छन् । भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ । स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बेपत्ता भएकाहरुको उद्धारको लागि गृह मन्त्रालयमा पत्र पठाइएको जानकारी दिनुभयो । फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकप्टरले चाडैँ खोजीकार्य गरेमा ज्यान जोगाउन सकिन्छ कि भन्ने आशा गरिएको वडाध्यक्ष बोहराले थप्नुभयो ।