काठमाडौं, ८, पौष । समाजवादी पार्टीले मंगलबार सरकार छाड्ने भएको छ । मंगलबार बिहान समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा बुझाउने बताइएको छ । समाजवादीबाट यादव उप–प्रधानमन्त्री तथा कानुनमन्त्री छन् ।
सो पार्टीका सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन् एक महिनाअघि मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिइएपछि समाजवादी र सरकारबीचको सम्बन्धमा चिसो सुरु भएको थियो ।
संविधान संशोधनलगायतका मधेस मुद्दा सम्बोधनमा दुई बुँदे सहमति गरी तत्कालीन संघीय समाजवादी फोरम ओली नेतृत्वको सरकारमा सामेल भएको थियो ।