अछाममा एक हप्तामा १ सय ३७ छाउपडी गोठ भत्काइए

743
views

अछाम, ११, पौष । सुदुपश्चिम प्रदेश अन्र्तगत पर्ने अछाम जिल्लाको विभिन्न ठाँउमा  एक हप्तामा १ सय ३७ छाउपडी गोठ भत्काइएका छन् ।

गत मंसिर १५ गते राती जिल्लाको साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी २२ बर्षीया पार्वति बुढा रावतको छाउगोठमै ज्यान गएपछि छाउपडी प्रथा न्यूनिकरणमा दबाबमूलक अभियान अन्तर्गत छाउगोठ भत्काइन थालिएको हो ।

जिल्लाका साँफेबगर नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा १ सय ३७ छाउपडी गोठ भत्काइएको प्रहरीले जनाएको छ । छाउगोठमा बसेकै कारण जिल्लामा पछिल्लो १४ बर्षमा १५ जना महिला र किशोरीको ज्यान गएको भन्दै उक्त छाउगोठहरु प्रहरी, जनप्रतिनिधिहरु र स्थानीय मिलेर भत्काइएको हो ।

बिहिबार मात्रै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटमा ९, वडा नम्बर १३ मा १०, वडा नम्बर २ मा ३६ छाउपडी गोठ भत्काइएको अछामका प्रहरी नायब उपरिक्षक डिएसपी दीपक भारतीले बताए ।

यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ मा २२ वटा छाउपडी गोठ भत्काईएको प्रहरीले जनाएको छ । यसअघि साँफेबगर नगरपालिकाका वडा नम्बर ३ र ४ का विभिन्न टोलमा ६० छाउपडी गोठ भत्काईएको थिए ।

छाउगोठ भत्काउँदै छाउपडी प्रथा, यसबारे बनेको कानून, यसले पार्ने असर लगायतका बिषयमा प्रहरीले जानकारी समेत गराएको छ । पार्वतिको छाउगोठमा ज्यान गएपछि अहिले उनका जेठाजु मुलुकि अपराध संहिता अनुसार हिरासतमा रहेका छन् ।

छाउप्रथा मान्नेलाई विभिन्न सेवासुविधा रोक्ने साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले बताए। महान्यायधिवक्ताको कार्यालयले छाउगोठमा बस्ने र बस्न लगाउनेलाई कारबाही गर्न कडा निर्देशन दिएको छ भने गृह मन्त्रालयले पनि छाउपडि प्रथा मान्नेको सामाजिक सुरक्षा भत्ता रोक्न र जनचेतनाका कार्य गर्न सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा निर्देशन दिएको छ ।

कानूनको कार्यान्वयनका लागि आफु पछि नहट्ने अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको भनाई छ ।