चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४०० नाघ्यो, हङकङमा एकको मृत्यु 

एजेन्सी

517
views

माघ २१, वुहान: चीनमा मंगलबार बिहान कोरोना भाइरसबाट मर्नेको संख्या ४२६ पुगेको छ। भाइरसबाट सोमबार थप ६४ जनाको ज्यान गएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनको हुबेइ प्रान्तको वुहानमा गत डिसेम्बरबाट महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट वुहानमा अहिलेसम्म २०,४७१ संक्रमित भएको जिसिनिएनले खबर दिएको छ ।

त्यस्तै चीनबाहिर १५९ जना संक्रमित भएको पुष्टि भएको छ । यसैगरी ६३२ जना निको भएका अधिकारीलाई उद्धृत गर्दै सीसीटीभीले लेखेको छ। 

चीनले भाइरस नियन्त्रणका लागि दस दिनमा हजार शैय्याको अस्पताल आइतबार निर्माण सम्पन्न गरी सोमबारदेखि उपचार सुरु गरेको छ। त्यस्तै १६०० शैय्याको अर्को अस्थायी अस्पताल निर्माण गर्न लागेको छ।

यस्तै चीनबाहिर हङकङमा पनि भाइरसका कारण एकजनाको ज्यान गएको छ। मंगलबार बिहान चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। चीनबाहिर कोरोना भाइरसका कारण ज्यान गएको यो दोस्रो घटना हो। यसअघि फिलिपिन्समा एक पुरुषको ज्यान गएको थियो।