दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमलाइ

587
views

बागलुङ, २२, माघ । दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक बागलुङ नगरपालिकाले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई ५/२ गोलले पछि पार्दै उपाधि आयोजकले उचालेको हो ।

बाङ्गेचौर खेल मैदानमा सम्पन्न खेलमा खेल सुरु भएको २ मिनेटमा नै बागलुङका कप्तान प्रमेश थापाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । निकै आक्रमक खेल प्रस्तुत गरेको बागलुङले २१ औँ मिनेटमा स्ट्राइकर ध्रुव घिमिरेको गोलबाट आफ्नो अग्रता दोब्बर बनाएको थियो । दोस्रो गोल गरेको ४ मिनेटपछि बागलुङका खेलाडी अभिषेक बोहोराले डि-बक्सभित्र ह्उान्ड बल गर्दा चौदण्डीगढीले पेनाल्टीबाट गोल गर्न अवसर पाएको थियो।

पेनाल्टीको सदुपयोग गर्दै शरद राईले खेललाई २-१ मा ल्याएका थिए।खेलको ३४ औँ मिनेटमा चौदण्डीगढीका खेलाडीले आफ्नो गोलकिपरलाई दिएको पास हातले समात्दा बागलुङले डि-बक्सभित्र फ्रि-किकको अवसर प्राप्त गरेको थियो । फ्रि–किकको सदुपयोग गर्दै बागलुङका मिडफिल्डर उत्तम गुरुङले उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफसम्म ३–१ को अग्रता लिएको बागलुङले खेलको ४९ औं मिनेटमा गोविन थापाको गोलका मद्दतले बागलुङले ३ गोलको अग्रता बनाउन सफल भयो । ३ गोलको अग्रता कायम राखेको बेला खेलको ७५ औं मिनेटमा डि–बक्सभित्र रक्षात्मक पंक्तिका खेलाडी निशान थापाले ह्याण्ड गर्दा चौदण्डीगढी पुनः पेनाल्टीमार्फत गोल गर्ने अवसर पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै चौदण्डीगढीका शरद राईल बागलुङ संगको अग्रता २ मा झारेका थिए । तर खेलको ७७ औं मिनेटमा बागलुङ खेलाडी उत्तम गुरुङले पुन गोल गर्दा बागलुङले ५-२ को गोल अन्तर बनाएको थियो । बाँकी समयमा चौदण्डीगढीले गोल गर्न सकेन र बागलुङले मेयर कपको उपाधि उचालेको हो । खेलका उत्कृष्ट खेलाडि गोविन थापा भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट विधातर्फ सवै बागलुङका खेलाडि घोषित भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी निशान थापा, सवैभन्दा वढी गोल गर्न खेलाडी ध्रुव घिमिरे ९५ गोल, उत्कृष्ट स्ट्राइकर ध्रुव घिमिरे, उत्कृष्ट गोलरक्षक सौगात खड्का, उत्कृष्ट डिफेन्डर जीवन गुरुङ र उत्कृष्ट मिडफिल्डर उत्तम गुरुङ घोषित भएका थियो। प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो भने द्वितीय हुने टिमले २ लाख मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो भने सेमिफाइनलमा पुग्ने टिमले ६० र ६० हजार प्राप्त गर्‍यो। प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा गण्डकी प्रदेश सभासद इन्द्रलाल सापकोटाले सम्बोधन गरेका थिए । प्रतियोगिताको समापन बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले गरेका थिए ।