फ्रान्सेली नागरिक डा. बर्नाडको लगानीमा बैतडीमा अस्पताल

712
views

बैतडी, २८, माघ । फ्रान्सेली नागरिक डा. बर्नाड जेफले व्यक्तिगत लगानीमा बैतडीमा पहिलोपटक सघन उपचार कक्ष आइसियु सहितको सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएका छन्‌ ।

दशरथचन्द नगरपालिका ४ स्थित शाहीलेक बजारमा सोमबारदेखि निको शक्ति अस्पतालु सञ्चालनमा आएको हो । निजी लगानीमा स्थापना भएको उक्त अस्पतालमा आईसियुसहित वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने जनाईएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट र दशरथ चन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्त रुपमा अस्पताल उद्घाटन गरेका छन्‌ ।

बैतडीको शाहीलेकमा सञ्चालनमा आएको अस्पतालमा न्यूतम शुल्कमा गुणस्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाइएको छ ।

आइसीयूसहित २५ शैय्या सञ्‍चालन अनुमति पाएको अस्पतालले तत्काल १५ शैय्याबाट सेवा सुरू गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र खत्रीले जानकारी दिए ।

अस्पतालले जनरल सेवाका साथै सर्जरी लगायतका सेवा पनि प्रदान गर्ने जनाएको छ। आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको हो । उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख भट्टले निको शक्ति अस्पतालले बैतडी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए ।

यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख थापाले उपचार गर्नकै लागि भारत तथा अन्य जिल्लाका अस्पतालले जानुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गरे ।