डडेल्धुरा २, फागुन । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था ‘हेल्फ फर ह्याप्पिनेस’ सुदूरपश्चिमले कैलाली कारागारका कैदीबन्दीहरूसँग प्रणय दिवस मनाएको छ।

ह्याप्पिनेसले कारागारमा रहेका ४७८ कैदीबन्दीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिँदै दिवस मनाएको हो। शुक्रबार कारागारमा कार्यक्रम आयोजना गरी उक्तसंस्थाले विभिन्न ब्लकमा रहेका कैदीबन्दीलाई गुलाफ र चकलेट उपहार दिएको छ।
प्रेम रुपलाई होइन मानवतालाई गर्नुपर्छ भन्ने हेल्फ फर ह्याप्पिनेसको उद्देश्यअनुसार कैदीबन्दीसँग भ्यालेन्टाइन डे मनाइएको संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले बताए। कारागारमा आश्रित सबैलाई एक्लो छु भन्ने महसुस हुन नदिन प्रेम स्वरुप रातो गुलाब उपहार दिएको संयोजक भण्डारीले बताए।
प्रेम प्रेमी र प्रेमिकाबीचमा मात्र सीमित नहुने सन्देश दिन पनि आफूहरुको उद्देश्य भएको उनको भनाइ छ। कानुनभन्दा माथि कोही नहुने भएकाले जान÷अन्जानमा भएका गल्तीको सजायको भागेदार भएको भन्दैमा कैदीबन्दीलाई बिचल्लित नहुन भण्डारीले आग्रह गरे।
कैदीबन्दीको पीडा बुझेर प्रेम दिवसमा उनीहरुलाई केही क्षणका लागि सामीप्यता दिएकोमा हेल्फ फर ह्याप्पिनेस सुदूरपश्चिमलाई कैलाली कारागारका जेलर वीरेन्द्रबहादुर बोहराले धन्यवाद दिए। उनले कतिपय व्यक्तिहरु प्रेमकै कारण कैद भुक्तान गर्न बाध्य भएको उदाहरण पनि कारागारभित्र रहेको बताए।
कारागारका सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक रामचन्द्र पन्तले प्रेम सबैलाई आवश्यक पर्ने बताए। उनले प्रेमीप्रेमिका बीच मात्र नभएर प्रेमले परिवार, समाज र राष्ट्रलाई एकढिक्का बनाएको बताए।
                









