रौतहटमा प्रहरीसवार भ्यानलाई ट्रकले ठक्कर दिँदा पाँच प्रहरीसहित छ जना घाइते

417
views

रौतहट ११,  फागुन  ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा   सवारी दुर्गघटनामा परी पाँचजना प्रहरीसहित छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत चारजना असई, एक सिपाही र एकजना मानसिक सन्तुलन गुमाएकी महिला घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

आइतबार बिहान पौने ५ बजे पथलैयामा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ब्रिफिङमा जाने क्रममा ना १ झ १३३१ नम्बरको प्रहरीको गाडीलाई विपरीत दिशाबाट आएको ना ६ ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा असई गोबिन्द राय यादव, मनोजकुमार सिह, विश्वानाथ प्रसाद यादव, हृदयप्रसाद यादव र सिपाही सरोजकुमार यादव घाइते भएका छन्।

यसैगरी करिब ३५ वर्षकी महिला पनि घाइते भएकी छिन्। उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका हबल्दार सोम चौलागाईले जानकारी दिए।