ओली र दाहालबीच आज भेटवार्ता हुने

572
views

काठमाडौं, १४, फागुन । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएको छ । बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षको भेट हुने जनाएको छ ।

दुई अध्यक्षबीच संविधान संशोधनका लागि वरिष्‍ठ माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको सार्वजनिक भएपछि नेकपामाथि भइरहेका आलोचना र त्यसको रक्षाका लागि पार्टीले तय गर्ने रणनीतिबारे छलफल हुनसक्ने बालुवाटार स्रोतले बतायो ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने कसरतसँगै राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने गरी कार्यदल बनाइएको छ । त्यसको चर्को विरोध भएपछि कार्यदल सदस्यहरु सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले बस्न अस्वीकार गरेका थिए । तर कार्यदलका संयोजक माधव कुमार नेपाल भने यसका बारेमा केही पनि बोलेका छैनन् ।

त्यस्तै निर्वतमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण सार्वजनिक भएसागै उत्पन्‍न परिस्थिति, एमसीसीका सम्बन्धमा सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र नेकपाको भावी कदम पनि दुई अध्यक्षबीच छलफल हुनसक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।