सिरियाले गरेको हवाई आक्रमणमा २९ टर्कीस सैनिक मारिए

469
views

एजेन्सी

काठमाण्डौ ।  सिरियाले गरेको हवाई आक्रमणमा कम्तीमा २९ टर्कीस सैनिक मारिएका छन् । टर्कीका अधिकारीहरुका अनुसार यो आक्रमण उत्तर–पश्चिमी सिरियामा भएको हो ।

टर्कीको हातय प्रान्तका गभर्नर रहमी डोगनले हवाई आक्रमणमा सिरियाको शहर इदलिबमा कयौँ व्यक्ति घाइते भएको बताएका छन् ।

केही रिपोर्टका अनुसार हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या २९ भन्दा बढी छ ।घटनापछि टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन् ।

इदलिब अहिले विद्रोहीहरुको नियन्त्रणमा छ र रुसको समर्थन पाएको सिरियाली सेना इदलिबलाई विद्रोहीहरुको नियन्त्रणबाट छुटाउन चाहन्छ ।

विद्रोहीहरुले पनि टर्की सेनाको समर्थन प्राप्त गरेको बताइएको छ । गएको वर्षको डिसेम्बरदेखि इदलिबमा युद्ध चलिरहेको छ, जसका कारण लाखौँ सङ्ख्यामा मानिसहरु पलायन भइरहेका छन् ।