सर्लाहीमा स्थानीय किसानले लगाएको बाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसान चिन्तित

687
views

सर्लाही  १७, फागुन ।  सर्लाहीको आधा दर्जन स्थानीय तहका किसानले लगाएको बाली जंगली जनावरले नष्ट गर्दै आएको छ।

लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर, बरहथवा, बागमती नगरपालिकाका किसान जंगली जनावरबाट पीडित भएका छन्।

जंगल नजिकै रहेको खेतमा रातको समयमा जंगली जनावर पसेर बाली नास गर्ने गरेको स्थानीय किसान टीकादेवी खड्काले बताइन्।

‘जंगलको छेउमा खेत छ,’ उनले भनिन्, ‘जे लगाए पनि जंगली जनावरलाई ठिक्क, बाली त उठाउनै पाइँदैन।’ दिउँसोभरि रुगेर बस्ने गरे पनि जनावर रात परेपछि बालीमा पस्ने गरेको हरिपुर–१ जानकी नगरका किसान मिनबहादुर पोखरेलले बताए।

जंगली जनावरले बाली सखाप पार्न थालेपछि किसानहरुले बाली जोगाउन तारबार गर्न थालेको पोखरेलले बताए। मूर्तिया जंगलको नजिक रहेको खेतबारीमा लगाएको मकै, आलु बालीमा नीलगाई, बाँदर, हरिण, बँदेल, दुम्सीलगायत जंगली जनावर पसेर बाली नष्ट गरेको उनको भनाइ छ।

जंगली जनावरले बालीमा क्षति गरेको डिभिजन वन कार्यालयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको किसानहरुको गुनासो छ। यस क्षेत्रमा वर्षौदेखि जंगली जनावरले दुःख दिँदै आएको छ।

जंगली जनावरबाट हुने क्षति रोक्न स्थानीयवासीले प्रतिकठ्ठा जग्गा भएका धनीलाई ५०० रुपैयाँका दरले रकम उठाएर तारजाली लगाएका छन्। तारजाली लगाएपछि जंगली जनावरबाट हुने क्षति केही कम भएको किसाहरुले बताए।