गोरखाको मान्बुमा जनप्रतिनिधि सवार जीप दुर्घटना,एकको मृत्यु, ७ जना घाइते

467
views

गोरखा २२, फागुन ।  गोरखाको मान्बुस्थित धोरतमा जनप्रतिनिधि सवार जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडासचिव किरण रिमालको ज्यान गएको छ।

जीपमा सवार सात जना घाइते भएका छन्। अपाङ्ग परिचयपत्र वितरण एवं ज्येष्ठ नागरिकलाई सहायता सामग्री वितरण गर्ने कार्यक्रममा सहभागी हुन मान्बु हुँदै सो टोली काशीगाउँतर्फ जाँदै थियो। उनीहरु सवार ग १ ज ५५०५ नम्बरको बोलेरो जीप मान्बुको धोरेत भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो।

उकालो चढ्न नसकेपछि ओह्रालोतर्फ लागेको जीप सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

मृतक रिमाल लमजुङका स्थायी बासिन्दा हुन्। घाइते हुनेहरुमा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ, धार्चे ५ का शर्मिला गुरुङ, सोही ठाउँकी निशा गुरुङ, माछिखोलाका केयरसिं गुरुङ, जीप चालक धार्चे २ का बालचन्द्र गुरुङ, कलंकी काठमाडौंका सुरज नेपाल र धार्चे ४ लाप्राकका धनबहादुर गुरुङ रहेको खुलेको छ।