कोरोना भाइरसको संक्रमण भएको आंशकामा उपचार गराइरहेकाको रिर्पोट आज आउँदै

500
views

काठमाडौं २२, फागुन ।  कोरोना भाइरसको संक्रमण भएको आंशकामा उपचार गराइरहेका तीन जना बिरामीको जाँचको रिपोर्ट आज बेलुका आउँदैछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशन कक्षमा तीन दिनदेखि उपचार गराइरहेका ३ जना बिरामीको रिपोर्ट आज बेलुकीसम्म आउने अस्पतालले जनाएको छ।

तीन दिन अघि चार जनालाई अस्पतालको आइलोसेन कक्षमा राखेर उपचार गराइएकोमा एक जना बिरामीको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएर घर फर्किसकेको र बाँकी तीन जनाको रिपोर्ट आज बेलुका आउने अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए।

यसअघि टेकु अस्पतालको ुआइसोलेसनु कक्षमा राखेर उपचार गरिएका २५ जना बिरामीको कोरोना संक्रमणको जाँचको रिपोर्ट नेगेटिभ आएकाले आज पनि नेगेटिभ नै आउन सक्ने डा बास्तोलाको भनाई छ।

मौसमी रुघाखोकीको समय भएकाले अहिले धेरैलाई रुघाखोकी र सामान्य ज्वोरो आएपनि कोरोनाको त्रास फैलिएको तर बिरामीलाई जाँच गर्दा त्यस्तो नभेटिएको उनले बताए। डा. बास्तोलका अनुसार पछिल्लो एक हप्तायता टेकु अस्पतालमा कोरोना भाइरसको आंशका सहित रुघाखोकी र सामान्य ज्वोरोका बिरामीको चाप बढेको छ।

 बास्तोलका अनुसार दिनमा ७० देखि १०० जना बिरामी उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन्। उनीहरुलाई उपचार गर्दा कोरोना भाइरसको लक्षण नदेखिएको र सामान्य रुघाखोकी र ज्वरो मात्रै पाइएको उनले बताए।

कोरोना भाइरसको संक्रमणबाट सचेत रहन तर अनावश्यक हल्ला र अफवाह नफैलाउन डाक्टर बास्तोलाले आग्रह समेत गरेका छन्।