नेपाली भूमि मिचेर बनाएको सीमा स्तम्भ तोडफोड

476
views

कञ्चनपुर, २, चैत्र । भारतले नेपाली भूमिमा सीमा स्तम्भ गाडेएको भन्दै स्थानीयले तोडफोड गरेका छन् । कञ्चनपुरको वेलडाँडीका स्थानीयले भारतले बनाएको सीमा स्तम्भ तोडफोड गरेका हुन । नेपाल–भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका–३ वैवाह क्षेत्रमा निमार्ण गरेको पिल्लर स्थानीयले तोडफोड गरेका छन ।

बेलडाँडी गाउँपालिका–३ वैवाह क्षेत्रमा नेपाल–भारत संयुक्त सर्भे टोलीले निर्माण गरेको ७८३ नम्बर पिल्लरको ४ नम्बर सहायक स्तम्भ स्थानीयले घन, हतौडा र ढुङ्गा प्रहार गरेर शनिबार तोडफोड गरेका हुन् ।

साढे पाँच दशकदेखि बस्दै आएको उक्त वस्तीका स्थानीयको जमिन भारतले अतिक्रमणगरेपछि विवाद हुँदै आएको थियो । विवादकाबीच पिल्लर गाडिएपछि स्थानीय आक्रोशित भएका हुन् । त्यो नेपालीको लालपुर्जा रहेको जमिन हो ।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा, पूर्व सांसद दिवान सिह विष्ट, बहादुर सिह थापा सहितको टोलीले शनिवार सीमा क्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्थानीयले भारतले सीमा मिच्न लागेको भन्दै उक्त सीमा पिलर तोडफोड गरेका हुन् ।

नेपालीको जमिनमा एउटा सीमा पिलर गाडिएको र अर्को गाड्नका लागि तयारी अवस्थामा राखेको देखिएपछि जनताले आक्रोश पोखेको कांग्रेसले जनाएको छ । स्थानीयले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै बिरोध समेत गरेका छन् ।

संयुक्त सर्वे टोलीले उक्त क्षेत्रमा सीमा पिलर गाड्नका लागि खाल्डो खन्न सुरु गरेपछि नै स्थानीयले विरोध गर्दै आएका थिए । सोही कारण सर्भेको काम रोकिएको र संयुक्त टोली सो क्षेत्रमा काम गर्न छाडेर कैलालीको खगौला नाकातर्फ गएको छ ।