छैटौं नयाँ संक्रमित देखिएकी महिला बाग्लुङकी

684
views

बागलुङ, २०, चैत्र । कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरबाट आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलामा बिहीबार कोरोना पुष्टि भएको छ । ति महिला कतार एयरको ६५२ नम्बरको विमानमा नेपाल आएकी थिईन । काठमाडौ र बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएपछि सोही विमानमा सवार बागलुङ नगरपालिका–३ की महिलाको स्वाब परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको थियो ।

परीक्षणबाट ती महिलामा पनि कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । संक्रमणको पोजेटिभ रिपोर्ट आएकी महिला फागुनको दोस्रो सातामा कान्छी छोरी भेट्नका लागि बेल्जियम पुगेकी थिइन् । छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नभएको भन्दै धेरै दिनसम्म उनको नमुना संकलनसमेत गरिएको थिएन ।

पछिल्ला दिनमा जिल्लामा जोखिम बढ्दै गएपछि एकै विमानमा सवार बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो । संक्रमित युवती र महिला सवार विमानमा सँगै आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ ।

संक्रमित बागलुङ नगरपालिका ४ कुडुलेकी युवती सँगै काठमाडौं उत्रिएर पोखरा हुँदै बागलुङ आएकी महिला घरमै परिवारसँगै बसेकी थिइन् । उनको परिवारमा ९० वर्षीय ससुरा, बुहारी र दुई नाती छन् । एउटै विमानमा आएकी काठमाडौंकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएर कुडुलेका युवतीलाई सामान्य ज्वरोको लक्षण देखिएपछि मात्रै ती महिला होम क्वारेन्टाइनमै छुट्टै बस्दै आएकी छन् ।

जिल्लामा दुईजना संक्रमित फेला परेसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको तिव्र जोखिम देखिएको भन्दै बागलुङमा त्रास बढेको छ ।

कोरोना संक्रमण देखिएका कुडुलेकी युवतीको परिवारका ७ जना सदस्य सहित ११ जनाको नमुना स्वाब पठाइएकोमा संक्रमित किशोरीका बुवा, हजुर बुवा, हजुआमा, फुपु, फुपुका छोरा र छोरीमा संक्रमण नभएको रिपोर्ट आएको छ ।

अन्य केहीको भने रिपोर्ट आउन बाँकी छ । संक्रमित महिला गत चैत्र ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयररको क्यूआर ६५२ बाट नेपाल आएकी थिइन् । अनलाईन खबरबाट