मकै लगाउन गएका कुँवरलाई प्रहरीद्वारा कुटपीट

591
views

श्रीभद्र पौडेल
हेमजा, २०, चैत । पोखरा–२५, हेमजामा बुधवार एक जना घाइते भएका छन् ।हेमजा कुँवरथर निवासी बीरबहादुर कुँवर घाइते भएका हुन् ।

मकै लगाउनका लागि हेमजाको मिलनचोक स्थित अस्थाई प्रहरी पोष्टसँग ट्याक्टरको अनुमति लिन पुगेका कुँवर प्रहरीको कुटाइबाट घाइते भएको जनाइएको छ । कोरोना भाइरसका कारण लकडाउनको समयमा किन बाहिर निस्केको, ट्याक्टर लगाएरै किन मकै लगाउन पर्यो भन्दै पोष्टमा कार्यरत ४ जना प्रहरीले आफूलाई कुटपिट गरेको कुँवरले बताए।हदकडी लगाएर खुट्टामा डोरीले बाँधी मरनासन्न हुने गरी कुटपिट गरेको उनको भनाई छ ।

उनको नाक, हात, मुख लगायत शरीरका विभिन्न अङगमा चोट लागेको छ । स्थानीय हेमजा पोलिक्निीक (हाल लियाँ मेडिकल हल) मा उपचार पछि घाइते कुँवर यतिवेला घरमा आराम गरिरहेका छन् ।

यता प्रहरीले भने कुँवरले लकडाउनको अवज्ञा गर्दै चोकमा पटकपटक तथानाम बोल्दा हिद्दा घटना घटेको जनाएको छ । मकै लगाउने वहानामा ट्याक्टरको कुरा अगाडि सारी कुँवरले पटकपटक प्रहरीलाई जिस्काएको पोष्टका प्रमुख, प्रहरी सहायक निरीक्षक भुमीप्रसाद शर्माले जनाए ।

यता स्थानीयले भने घटनाको विरोध गरेका छन् । उनीहरुले घटनाकै समयमा पोष्ट अगाडि उपस्थित भएर प्रहरीले ज्याजती गरेको भन्दै विरोघ जनाए । लकडाउनको समयमा मकै लगाउन ट्याक्टर अनुमति माग्न प्रहरीसँग जानु के गलत हो भन्दै उनीहरुले दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

उता वडा सदस्य दलबहादुर कुँवरले स्थानीय किसान माथि प्रहरीले ज्याजती गरेको प्रतिक्रिया दिएका छन् ।घटना बारे बुझ्न खोज्दा आफूलाई पनि पोष्टमा कार्यरत ट्राफिक प्रहरी टीकाराम कडेल र प्रहरी जवान भरत खड्काले दुरवचन बोलेको भन्दै कुँवरले विरोध समेत जनाए ।