बाग्लुङका आठजनाको स्वाब परिक्षणका लागि पोखरा पठाईयो

731
views

सीताराम थापा
बाग्लुङ, २७, चैत्र । कैलालीका संक्रमित युवकसँगै भारतको गौरीफन्टा नाकाबाट भिडमा नेपाल भागेर आएका बागलुङका चारसहित आठ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय र धौलागिरी अञ्चल अस्पतालले जिल्लाको बरेङ गाउँपालिकाको क्वारेन्टाईनमा पुगेर छ जनाको स्वाब लिएको थियो । भागदौडमा आएर बागलुङको बरेङ क्वारेन्टाइनमा उनिहरु बसिरहेका थिए ।

उनीसँगै नेपाल छिरेका चारजना र अन्य भारतबाटै आएका दुई जनाको स्वाब संकलन गरि पठाएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ ।

उनीहरु भारतको कर्नाटकबाट धनगढी हुँदै पाल्पामा ७ दिन क्वारेन्टाइनमा र बागलुङको बरेङ आएर सर्वोदय माविको क्वारेन्टाइनमा बसेको १४ औं दिनमा घर पठाउने तयारी भएपनि सोहीदिन नेपालमा संक्रमण पुष्टि भएका युवक आएकै भीडबाट उनीहरु आएको सूचना र समाचारपछि क्वारेन्टाइनमा राखिएको बरेङ गाउँ पालिकाका अध्यक्ष कृष्ण पौडेलले बताए ।

यसका साथै नयाँ बजारको जनता प्रावि क्वारेन्टाइनमा रहेका भारतकै मुम्बईबाट आएका दुईजना र उनीहरुलाई गुल्मीको शान्तिपुरसम्म लिन पुगेका अरु दुई जनाको पनि स्वाब संकलन गरिएको हो । बागलुङमा तत्काल र्यापीड परिक्षण गर्ने सरकारको निर्णय अन्तिम तयारीमा रहेकाले संकलित स्वाब परीक्षणका लागि बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

बागलुङमा हाल १८ जनाको स्वाव परिक्षण सम्पन्न भएको छ । उनिहरु मध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ देखिएका दुबैको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । उनिहरुको अवस्थामा सुधारोन्मुख रहेको जनाईएको छ ।

स्वास्थ्य मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै ८ सय १३ र संक्रमितको सम्पर्क तथा गाउँका केहीको गरेर ९ सय जनाको परीक्षण गर्नुपर्ने बताएको भए पनि र्यापिड टेष्ट उपकरण मान्यतामाथि प्रश्न उठेकाले परिक्षणको विश्वसनियतामा जिल्लाका सचेत नागरिकले आशंका व्यक्त गरिरहेका छन ।