कर्णाली प्रदेशमा पहिलोपटक संक्रमण देखियो

774
views

काठमाडौं, ५, जेष्ठ । कर्णाली प्रदेशमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार एकैदिन ८० जना कोरोना संक्रमित थपिएकामा कार्णली प्रदेशमा पनि संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाकारी दिएको छ ।

बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुनः परीक्षण गरिएको थियो ।

त्यस्तै बाँकेको नरैनापुरमा सोमबार राति थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार दिउँसो १ महिलासहित ४७ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार क्वारेन्टाइनमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन् ।

त्यस्तै खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनी हलेसी नगरपालिकाका निवासी पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गुल्मीका एक संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।