पर्वतको आकाश हुँदै पञ्चासे क्षेत्रमा उडे सलह किरा

1171
views

संजय रेग्मी
पर्वत, १५ असार । ठुलो सङ्ख्यामा उड्ने र बसेपछि लगाइएको बालीमा एकै पटकमा ठुलो क्षति पु¥याउने सलह किरा पर्वत जिल्लामा पनि प्रवेश गरेको छ । सोमबार अपराह्न स्याङ्जा जिल्लाको आकाश हुँदै पर्वतको दक्षिणी भेगबाट कास्की जिल्लाको आकाशतर्फ उडिरहेका सलह किरा प्रस्टै देखिन्थे । यसको पुष्टि कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले पनि गरेका छन् ।

एउटै समूहमा नउडी छिरलिएर र जमिनको सतहभन्दा धेरै माथिबाट उडेका किरा छोप्न चराचुरुङ्गीहरू पनि आकाशमा उडिरहेका देखिन्थे । जमिनको सतहबाट सामान्य क्यामेराले कैद गर्न नसक्ने गरी उडेका किरा पर्वतमा लगाइएको खाद्य बालीमा बसेको र क्षति गरेको रिपोर्ट आफूलाई प्राप्त नभएको रेग्मीको भनाई छ ।

जिल्लाको महाशिला गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ लुंखुदेउरालीका वडाध्यक्ष जीवनविक्रम उचैले पनि सलह किरा गाउँपालिकाको आकाश हुँदै उडेको र केही भने उड्दा उड्दै जमिनमा खसेका कारण सलह नै हो भनी पहिचान गर्न सकिएको बताएका छन् ।

अहिलेको नयाँ पुस्तालाई सलह किरा नयाँ लागेको भए पनि पाको पुस्ताले भने धेरै वर्ष पहिले नै यस्तै किरा आएर बालीनाली सखाप पारेको आफूले जानेको बताउँछन्। केही ज्येष्ठ नागरिकले आफूहरुको उमेर १२/१३ वर्षको हुँदा धान र मकैमा बसेका यस्तै किराहरू छोपेर डालीमा जम्मा गरेको स्मरण गर्दै यसलाई धपाउन खेतीबाली लगाएको ठाउँमा आगो बालेर धूँवा निकाल्नुपर्ने सुझाए ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा पनि प्रवेश गरेको हो। प्रवेश गरेकै अवस्थामा नेपालको तराई क्षेत्रमा देखा परेका किरा पहाडी क्षेत्रमा पनि सजिलै देख्न थालिएका छन्। नेपालमा लगाइएको मकै बालीमा हालै मात्र गुभामा आक्रमण गर्ने अमेरिकन फौजी किराको प्रकोप देखिएको थियो । त्यसको समाधान भएको केही समयमा नै सलह किरा आउनुले खाद्य बाली सखाप हुन सक्ने चिन्तामा कृषकहरू छन्। यो बेलामा धान रोपाइँ धमाधम भइरहेको छ। सलह किरा बसेमा धानको बीउ समेत खाइदिएर भोकमरी हुन सक्ने कृषकहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले पनि सलह बसेमा धानको बीउ समेत नछाड्ने भएकाले किरा धपाउने उपायको बारेमा तयार भएर बस्दै किरा आएको बेलामा कृषकहरूले विशेष ख्याल गर्नुपर्ने बताउँछन् ।

सलह किरा करोडौँको सङ्ख्यामा एकै पटक उड्छन् । यो किराले छोटो समयमा नै हरियो वनस्पतिको पात र डाँठ समेत खाइदिन सक्छ । एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्ने भएका कारण देखिएको ठाउँ सहित आसपासका क्षेत्रका कृषकहरू पनि सतर्क हुनुपर्ने कृषि विज्ञहरूको भनाई छ ।