काठमाडौं, साउन ९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार दिउँसो बार्ता भएको छ । तीन दिनपछि भएको दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको अध्यक्षका सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न दिउँसो १२ बजे बालुवाटार पुग्नुभएको उहाँका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले बताउनुभयो । दुई अध्यक्षबीच करिब ४५ मिनेट वार्ता भएको र वार्ता सकारात्मक रहेको उहाँले बताउनुभयो । साउन ६ गते यता दुई अध्यक्षबीच वार्ता हुन सकेको थिएन । तीन दिनपछि भएको वार्तामा सहमतिको प्रयास जारी राख्ने दुवै अध्यक्षबीच कुरा भएको सापकोटाले बताउनुभयो ।
नेकपाको स्थायी कमिटी बैठक १३ गते ११ बजेकालागि सारिएको छ । सोअघि दुई अध्यक्षबीचमा देखिएको आन्तरिक विवाद र मतभेद अन्त्यका लागि समय प्रदान गरिएको स्थायी कमिटीका सदस्यहरुको भनाई छ । स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरिए पनि दुई अध्यक्षबीच सघन बैठक हुन सकिरहेको छैन ।
यसअघि दुई अध्यक्षबीच आगामी मंसिरमा पार्टीको ‘अर्ली महाधिवेशन’ गर्नेगरी सहमति बनेको र त्यसको व्रिफिङ समेत राष्ट्रपतिसमक्ष भएको बताइए पनि त्यसले ठोस रुप लिन सकेन । अध्यक्ष प्रचण्डले आफूलाई परिबन्दमा पारेर राष्ट्रपति कार्यालय पु¥याइएको अभिव्यक्ति दिनुभएपछि सो सहमति पुनः असहमतिमा परिणत भएको थियो ।
दुई अध्यक्षले विभिन्न कोणबाट सहमतिको प्रयास गर्नुभए पनि अहिलेसम्म ठोस् सहमति बन्न नसकेको अध्यक्षका सचिवालयको भनाई छ । अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाले एक व्यक्ति एक पद, पार्टीको विधि र पद्धतिको माग स्थायी कमिटी बैठकमा राख्नु भएपछि त्यसमा सहमतिको प्रयास जारी रहेको छ । अध्यक्षद्वयबीचको सहमतिको प्रयास जारी रहने सल्लाहकार सापकोटाले बताउनुभयो । गोरखापत्र अनलाईनबाट