नरहरीनाथमा पहिरोले घर पुरिँदा  ९ जनाको मृत्यु

938
views

सुर्खेत, १४ साउन । कालीकोटको नरहरीनाथ गाउँपालिकाको वडा नम्बर ७ बागामा पहिरो जाँदा एकै परिवारका सातगरी ९ जनाको मृत्यु भएको छ ।

गएराती ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोले पुरिएर ६ र एक जनाको उपचारका क्रममा मृत्यू भएको हो । मृत्यु हुनेमा गंगेसहित उहाँकी श्रीमति ६२ वर्षीय मैना बुढा, २४ वर्षीय बुहारी उषा बुढा, १० वर्षीय नातीनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनकाअनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीय विमला बुढाको कुमाल स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यू भएको हो ।

यस्तै, नरहरीनाथ ४ माझगोठमा पहिरोले घर भत्किदा ६५ वर्षे बाले बुढा र उहाँकी श्रीमती ६२ वर्षीय मन बुढाको मृत्यु भएको डिएसपी ओलियाले जानकारी दिनुभयो । पहिरोले घर बगाउने समयमा चार जना भाग्ने क्रममा घाइते भएको प्रहरीको भनाई छ ।

घरमा पुरिएकाहरु ९ जनाको शव प्रहरी र स्थानीयहरुको सहयोगमा निकालिएको डिएसपी ओलियाले बताए । मंगलबार विहान रास्कोट नगरपालिका–१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर वेपत्ता भएका पाँच जनाको शव अझै भेटिएको छैन ।

उनीहरुको खोजीका लागि कालिकोटबाट थप प्रहरीको टोली घटनास्थल पठाइएको डिएसपी ओलियाको भनाई छ । पहिरोले कर्णाली राजमार्ग र कर्णाली कारिडोरको दर्जनबढी ठाउँमा पहिरो जाँदा सवारी आवागमन समेत अवरुद्ध भएको छ ।