नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोना

479
views

सीताराम थापा
नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार, २१४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार अहिले देशभरि विभिन्न स्थानमा १० हजार २०५ जना क्वारन्टिनमा छन। नेपालमा कोभिड १९ को संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको बताए ।

पर्साको विरगन्ज महानगरपालिकाका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा र पर्साकै ७९ वर्षीय पुरुषको साउन २० गते घरमै निधन भएको र कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै पर्साकै ५७ वर्षीय अर्का पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पातलमा निधन भएको छ । सिरहा गोलबजार नगरपालिकाका २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ । सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २३ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा निधन भएको छ ।

यससँगै हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । अहिले ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । जस मध्ये प्रदेश १ मा ४ सय २५ जना, प्रदेश २ मा २ हजार ८ सय ३९ जना, बागमती प्रदेशमा ९ सय ४३ जना, गण्डकी प्रदेशमा २ सय ७६ जना, प्रदेश ५ मा ३ सय ७६ जना, कर्णाली प्रदेशमा २ सय ३१ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ४० जना संक्रमित रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार देशभर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १० हजार २ सय ७ रहेको छ ।