महालेखाको प्रतिवेदनले महाशिलालाई सकस

59
views

यज्ञ बहादुर थापा
पर्वत, २९, साउन । महालेखा परिक्षकको कार्यालयले महाशीला गाउँपालिकाप्रति सार्वजनिक गरेको प्रतिवेदले गाउँपालिकालाई सकस पारेको छ । पर्वतको महाशिला गाउँपालिकाले गौरबको योजनाको रुपमा अघि सारेको एक घर एक रोजगार दिने विकास स्वयंसेवक कार्यक्रमलाई महालेखाले उपलव्धीविहिन भनेको छ ।

महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा विकास स्वयंसेवक कार्यक्रम सञ्चालन गरी ठुलो रकम खर्च गर्नु ओचित्यहिन भएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा महाशीला गाउँपालिकाले विकास स्वयंसेवक कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७५र७६ मा २ करोड ५० लाख बिनियोजन गरी २३ लाख ४२ हजार रुपैयाँ अन्तरक्रिया र तालिममा खर्च गरेको, ९० लाख ८० हजार स्वयंसेवकको पारिश्रमक र अन्य गरी १ करोड ३४ लाख २८ हजार खर्च गरेको उल्लेख गरिएको छ ।

सडक मर्मत समिति, कृषि प्राविधिक, पशु प्राविधिक, गाउँ रक्षक लगायतका स्वयंसेबक कर्मचारी राखेको उल्लेख गरेपनि स्वयंसेवकले सम्पादन गरेको कार्यको अभिलेख राखेको पाईएको छैन । प्रतिवेदनमा भनिएको छ ।

रोजगारमूलक दीर्घकालीन लाभ प्राप्त गर्ने क्षेत्र तथा योजना, छनोट गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपनि अल्पकालीन रोजगारको कार्यक्रम मात्र संचालन गरेको भन्दै यस्ता कार्यक्रम संचालन गर्नु उपयुक्त नभएको महालेखाले ठहर गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि उक्त कार्यक्रमका लागि १ करोड १० लाख रुपैयाँ बिनीयोजन गरेको छ । महाशीला गाउँपालिकाले २०७५ सालदेखि उक्त कार्यक्रम शुरुवात गरेको थियो ।