राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

880
views

काठमाडौं, २, भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा निधन भएको हो ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

१९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तान घिमिरेको मंगलबार निधन भएको हो । घिमिरेकी कान्छी पत्नी महाकाली ८६ वर्षकी छन् ।

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले ‘गौरी’ शोककाव्य लेखेका थिए । उनको यो शोककाव्य लोकप्रिय कृतिमा पर्छ । उनका अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् ।

घिमिरेका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका छन् ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।