सुरक्षाको माग गर्दै बीपीका नर्स आन्दोलित

623
views

धरान, ८, भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरु सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् । कोरोना संक्रमित र अन्य बिरामीहरुको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठानले स्वास्थ्य सामग्रीबिना डिउटीमा खटिन बाध्य पारेको भन्दै सोमबारदेखि आन्दोलित भएका हुन् ।

प्रतिष्ठान भर्ना भएका बिरामीको उपचारमा खटिँदा स्वास्थ्य प्रोटोकल अनुसारका स्वास्थ्य सामग्री उपलब्ध नगराएको र नर्सहरुको सुरक्षामा चासो नदेखाएका कारण आन्दोलित हुनु परेको आन्दोलत नर्सहरुको भनाई छ ।

उनीहरुले प्रतिष्ठान व्यवस्थापन पक्षसँग पीपीइ, पञ्जा र माक्सजस्ता सामाग्रीहरुको माग गरेका छन् । सोमबार मात्रै प्रतिष्ठानको आइसीयूमा उपचाररत आठजना बिरामीको कोरोना पुष्टि भएको छ । कोरोना पोजिटिभ देखिएका बिरामीको उपचारमा संलग्न नर्सलाई क्वारेन्टाइनमा नपठाइ सिधै डीउटीमै खटाएपछि नर्सहरु आन्दोलित भएका हुन् ।

उनीहरुले संक्रमितलाई क्वारेन्टाइनमा पठाउन माग गरेका छन् तर व्यवस्थापन पक्षले वेवास्था गरेको प्रतिष्ठाकी नर्स सारजु राई बताउँछिन् ।

प्रतिष्ठानको आइसीयू, एमआइसीयू, प्रसूति वार्ड, मेडिसिन वार्डमा भर्ना भएका बिरामीलाई समेत कोरोना देखिएपछि स्टाफ नर्सहरुमा समेत कोरोना भाइरसको संक्रमण देखिएको राईले बताईन् ।

प्रतिष्ठानमा हालसम्म दर्जन बढी स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ ।