जरो टुप्पोमा इन्द्र–हुमा स्मृति वाङ्मयकोष स्थापना

814
views

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालमा इन्द्र-हुमा स्मृति वाङ्मय कोष स्थापना भएको छ । इन्द्रहुमा परिवारका छोरी सीताकुमारी जिसीको मनोकामनामा इन्द्रहुमाका नातिद्वय सविन र अश्विन नातिनीबुहारी सुमित्रा र कल्पना जिसीको पहलमा उक्त कोष स्थापना भएको हो ।

इन्द्रहुमा परिवारका नातिरत्न सविन जिसीले एक कार्यक्रम बीच संस्थाका महासचिव मदन भण्डारीलाई एक लाख ११ हजार एक सय ११ नगद हस्तान्तरण गरेका हुन् ।

उक्त कोषको व्याजबाट हरेक दुई वर्षमा पुरस्कार अर्पण गर्ने विनियम तय गरेको जरोटुप्पोका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले बताएका छन् ।

पुरस्कार संस्थाको घोषित नीति अनुसार देशभक्ति, राष्ट्रिय एकता र साहित्यको उन्नयनमा गण्डकी प्रदेशमा क्रियाशील प्रतिभालाई १० हजार एक सय १० राशिसहित प्रदेश पुरस्कार अर्पण गरिने संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी गराए ।

सविन जिसी संरक्षण र जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल सञ्चालक रही स्थापना भएको उक्त कोष व्यवस्थापनमा संस्थाका अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा मुद्दती निक्षेपमा खाता सञ्चालन गरिएको कोषाध्यक्ष असफल गौतमले जानकारी दिए ।

जनकविकेशरी धर्मराज थापाका गीतबाट प्रभावित इन्द्रहुमा दम्पत्तिले सामाजिक सुव्यवस्था र साहित्यको उन्नतिमा उल्लेख्य योगदान गरेको पाइन्छ । गीताप्रेमी इन्द्रहुमा सस्वर रामायणवाचनमा टोलछिमेकमा नमुना जोडा थिए । त्यस क्षेत्रको वालन नाँचलगायत सांस्कृतिक उन्नयनमा पनि योगदान रहेको जिसी परिवार बताउँछन् ।