काठमाडौं । स्पेनिस टेनिस खेलाडी रफाईल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी क्ले कोर्टमा खेलिने वर्षको एकमात्र ग्रान्डस्लाम टेनिसमा नदाललाई उपाधिका मुख्य दावेदार मानिएको छ ।
१५ पटक फ्रेन्च ओपनमा सहभागिता जनाएका नदालले १२ पटक उपाधि जितिसकेका छन् । यसपटक करियरको २० औं ग्राण्डस्लाम जितेर रोजर फेडेररको किर्तीमान बराबरी गर्ने अभियानमा रहेका नदालले क्वाटरफाईनलमा इटालीका जेनिक सिनरलाई ७–६, ६–४ र ६–१ को सेटमा हराए ।
नदालले अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाका डिएगो स्वार्ट्जमनसँग प्रतिस्पर्धा गर्ने छन् । यु.एस ओपन विजेता डोमिनिक थिएमलाई पराजित गरेर डिएगो सेमिफाईनलमा पुगेका हुन् । एजेन्सी