पाँच औषधि पसललाई १० लाख जरिवाना

1293
views

नुवाकोट, २३, असोज । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार नुवाकोटका औषधी पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सदरमुकाम विदुर क्षेत्रका पाँचवटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

अनुगमनका क्रममा विदुर नगरपालिका २ बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एकप्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

यस्तै, संयुक्त अनुगमन टोलीले म्यागङ गाउँपालिकाका औषधि पसलहरुको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएकोले सिलबन्दी गरिएको छ । म्यागङ गापा–३ मा सञ्चालित मेडिकल तथा फार्मेसी अनुगमन गर्ने क्रममा सोही वडामा सञ्चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित सञ्चालनमा रहेको पाईकोले सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी तादी गाउँपालिकाको खरानीटारमा रहेको तादी फर्मा र दुप्चेश्वर फार्मेसी मा खरिद विल नभएको पाइएकोले रु १० हजार जरिवाना गराइएको जिल्ल प्रशासन कार्यालयले छ ।