‘आऊ, पढ, कमाऊ, जाऊ’ भन्ने रणनीति छ

1918
views

कर्णाली प्रदेशको दैलेखमा रहेको नमुना मावि चामुण्डाले प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउँदै आएको छ । कृषि प्राविधिक शिक्षाको पढाई सञ्चालनदेखि आजसम्म भोग्नुपरेका चूनौतिका विषयमा भूतपुर्व प्रधानाध्यापक जयप्रसाद तिमिल्सेनासँग नवदृष्टिकर्मी जितेन्द्र थापाले गरेको कुराकानी ।

♦ नमुना मावि चामुण्डामा प्राविधिक शिक्षा ल्याउन के–कस्ता समस्या र बाधा अड्चनहरु आइपरे ?
प्राविधिक शिक्षा गाउँघरका लागि एउटा नयाँ शैक्षिक अभियान हो । साधारण शिक्षा पढेको साधारण शिक्षाबाट हुर्केको सबै पुरानो सोंच र संस्कृतिमा हुर्केका नयाँ समुदायमा यो प्राविधिक शिक्षा ल्याँउदाखेरी निश्चित पनि विभिन्न किसिमका चुनौतिहरु खेप्नुपरेको थियो । यतिसम्म चुनौति कि नेपाल सरकार र स्थानिय निकायले शिक्षामा कुनैपनि लगानी नगरेको अवस्थामा, यहाँको समुदायमा शिक्षामा लगानी गर्नुपर्छ भन्ने भावना नभएको अबस्था, सामुदायिक विद्यालय पनि जेनतेन सञ्चालन भएको अबस्थामा आर्थिक समस्या ठूलो समस्याका रुपमा देखापर्यो । यस विद्यालयबाट प्रत्यक्ष प्रभावित हुने समुदायमा चेतनाको कमि भएको हुनाले पनि हामीले निकै दुःख कष्ट भोग्नु पर्यो । प्राविधिक शिक्षाको स्थापना भन्दा वित्तिकै यसै क्षेत्रका शिक्षितहरुले समेत टिकाउ हुने विषयमा पत्याउनु भएन यि र यस्ता खाले सबै प्रकारका चुनौतिहरु भोगरे पनि प्राविधिक शिक्षा सञ्चालन गर्न सफल भयौं ।

प्राविधिकतर्फ TSLC तिनवर्षे बाली विज्ञान र कृषि जेटिए रहेछ अहिले विद्यार्थीको उपस्थिति पहिले कस्तो थियो र अहिले कस्तो छ ?

सुरु–सुरुमा कृषि भनेपछि हाम्रा बाबाले पढे, हजुरबाले त्यहि व्यवसाय गरे । हामीले त्यहि व्यवसाय गर्यौं, हाम्रा छोराछोरीले किन कृषि पढनु पर्यो ? नपढेपनि कृषि गर्न सक्छौ भन्ने समाजमा एउटा खालको बुझाई थियो । तर, पढाइबाट मात्र कृषिलाई व्यवसायमुखि बनाउनुपर्छ । आयआर्जनमुखि बनाउन सकिन्छ, रोजगारमुलक बनाउन सकिन्छ भन्ने चेतनाको विकास भएको कारणले गर्दा प्राविधिक शिक्षा पढनेको लहर बढेको देखिन्छ । अभिभावकमा पनि हाम्रा छोराछोरीले प्राविधिक शिक्षा अध्ययन गरुन भन्ने भावनाको विकास भएको छ । अहिले पनि २०७७ सालमा कोरोनाका कारणले विद्यालय चलिरहेका छैनन् । विद्यालय चलाउन समस्या भएको छ । विद्यालय सञ्चालन नभएको अवस्थामा पनि हाम्रो आइएसएजिमा ४० जना विद्यार्थीको कोटा छ । ३७ जना विद्यार्थी विद्यालयले छनौट गर्नुपर्ने अबस्था छ । २६ गतेसम्म हाम्रो समय अवधि छ । निम्न विद्यार्थीभन्दा अहिले धेरै विद्यार्थी सम्पर्कमा रहेको र धेरैले फर्म भरिसकेका छन् । विद्यार्थीको चाप क्रमशः बढ्दो अवस्थामा देखिएको छ ।

♦ छात्रवृत्तिका लागि वर्गिकृत कोटाहरु छुटाईको छ वा छुटटाइदैन ?
छात्रवृत्तिका लागि विद्यालयमा इन्ट्रान्समा उत्कृष्ट हुने एकजनालाई निःशुल्क छात्रवृत्ति दिने व्यवस्था गरेका छौं । सिटिभिटिबाट ३ जना विद्यार्थीलाई विभिन्न प्रक्रिया पुरा गरेर आउने विद्यार्थीलाई सिटिभिटिबाट सिफारिसमा छात्रवृत्तिको व्यवस्था गरेका छौं । गरिब, जेहेन्दार, जनजाति विद्यार्थीलाई विद्यालयकै आन्तरिक श्रोतबाट केही छुट गर्ने गरेका छौं । अर्को भन्दापनि हामी विद्यार्थीलाई ‘आऊ, पढ, कमाऊ, जाउ’ भन्ने रणनीति अपनाएका छौं । तिन वर्षसम्म यहाँ पढ्ने भाइबैनिहरुलाई यहिँबाट व्यवसायिक सिप सिकेर आफ्ना आयआर्जनको उपाय गरेर आफ्नो न्युनतम शुल्क तिर्न सक्ने सामथ्र्य बनाउने हाम्रो लक्ष्य रहेको छ । शुल्कको अभावमा हाम्रा विद्यार्थी पढाइबाट बञ्चित हुनपर्ने अवस्था छैन ।

नमुना मावि चामुण्डामा टि एसएलसी कृषि जेटिए पढाइ हुन्छ यो प्राविधिक शिक्षा पढिसके पश्चात अन्य ठाउँमा जागिरको व्यवस्था गर्छौ भन्ने हुन्छ चामुण्डा माविले के गर्ने गरेको छ ? के पढाईपछि जागिरको व्यवस्था गर्छ त चामुण्डा मावि ले ?

हाम्रो उद्धेश्य जागिरका पछि दौडिने जनशक्ति उत्पादन गर्ने होइन । जागिरले विद्यार्थीहरुलाई खोज्दै आउनुपर्ने अथवा आत्मनिर्भर हुने, आँफुले जागिर खाने भन्दा पनि धेरैलाई जागिर दिनसक्ने युवाहरु तयार गर्ने हाम्रो लक्ष्य हो, जागिर खुवाउने लक्ष्य होइन । आँफुभन्दा धेरैजनालाई रोजगारी सिर्जना गर्नसक्ने शिक्षा दिइरहेका छौं । विभिन्न तौरतरिकाबाट तालिम दिएर गाउँमै रोजगारी गर्नसक्ने दक्ष बनाउने उद्धेश्य हो । आफ्नै तरिकाले गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ । कृषिमा परिर्वतन ल्याउनुपर्छ । हाम्रो उद्धेश्य भनेको नोकर हुने होइन मालिक हुने हो । कसैको गुलामी बन्नुपर्ने, कसैको चाकरी गर्नुपर्ने होइन । आँफै स्वाभिमान भएर जिउन सकिन्छ भन्ने कला दिने उद्धेश्यले प्राविधिक शिक्षा सञ्चालन गरेका छौं । हाम्रा विद्यार्थी भाइबहिनिहरुले पनि एक घर एक विद्यार्थी र एक करेसाबारी त्यस्तै किसिमका फार्महरु सञ्चालन गरी नमुना किसिमका कामहरु सञ्चालन गरिरहेका छन् । हामी पनि नेपालको कृषिलाई आमुल परिर्वतन गर्ने किसमले लागिरहेका छौं ।

आगामी दिनमा प्राविधिकतर्फ कस्ता कार्यक्रम ल्याउने तयारीमा हुनुहुन्छ ?
चामुण्डा नमुना माध्यमिक विद्यालयलाई बहु–प्राविधिक विद्यालय बनाउने लक्ष्य रहेको छ । बहु–प्राविधिकमा हामीसँग अहिले बाली विज्ञान सञ्चालन भइरहेको छ । बाली विज्ञान सँगसँगै पशुको लागि मल, घाँसपातको लागि र यहाँको आवश्यक्ताको लागि पशु विज्ञान र वन विज्ञानका कक्षाहरु सञ्चालन गर्ने लक्ष्य रहेको छ ।