बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

486
views

लण्डन, १६, कार्तिक । बेलायतमा दोस्रो पटक लकडाउनको घोषणा गरिएको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि लकडाउनको घोषणा गरेका हुन् । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो ।

त्यहाँ यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो ।