कोरोना उपचारका लागि ५० हजार धरौटी राख्नुपर्ने

636
views

काठमाडौं । कोरोना भाइरस संक्रमितले उपचार गर्नका लागि सरकारी अस्पतालमा ५० हजारसम्म धरौटी राख्नुपर्ने भएको छ । सरकारले निःशुल्क उपचार नसक्ने घोषणा गरेपछि नीजिका साथै सरकारी अस्पतालले धरौटी र उपचार खर्च माग्न थालेका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क तोक्नुका साथै धरौटी माग्न थालेको छ । अस्पतालले सुचना जारी गर्दै जटिल अवस्थाका बिरामीले दैनिक १५ हजारसम्म उपचार खर्च तिर्नुका साथै ५० हजारसम्म धरौटी राख्नुपर्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कार्तिक १४ गतेबाट संक्रमितको उपचार शुल्क लिने निर्णय गरेको अस्पतालले जनाएको छ । अस्पतालले आइसीयू र भेन्टिलेटर चाहिने गम्भीर विरामीका लागि ५० हजार धरौटी र दैनिक १५ हजार उपचार खर्च लाग्ने जनाएको छ ।

सघन उपचार कक्षमा मात्रै राख्नुपर्ने जटिल र मध्यम जटिललाई दैनिक ७ हजार ५ सय उपचार खर्च र ३० हजार धरौटी राख्नुपर्ने सूचनामा उल्लेख छ । ग्यास्ट्रो आइसोलेसनमा राखिने मध्यम जटिलका लागि दैनिक ३५ सय उपचार खर्च र २० हजार धरौटी रकम अस्पतालले मागेको छ ।