नेकपामा खैलाबैला, प्रधानमन्त्रीलाई लिखित पत्र

573
views

काठमाडौं, २२, कार्तिक । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष पाँच नेताले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । यो सो पार्टीको सचिवालयको टिम हो ।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै आएको टिमले प्रधानमन्त्रीलाई बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

भेटमा नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन लिखित पत्र बुझाएका छन् । सचिवालय बैठक बोलाउनुपर्नेसँगै पत्रमा पछिल्ला दिनमा पार्टीभित्र देखिएका विवाद र सरकारले गरेका कामको समीक्षा हुनुपर्ने माग गरिएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित ओलीलाई पत्र बुझाउन वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपालसँगै उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए । नेताहरुसँगको भेटमा ओलीले बैठक बोलाउने आश्वासन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

शुक्रबार नेकपा बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा बसेको थियो । सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पटकपटक आग्रह गरे पनि सहमति नभएपछि प्रचण्डले हिजो सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए ।