पर्वत, २०, मंसिर । द्रुत गतिमा निर्माण कार्य भैरहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा दैनिक साढे तीन घण्टा सवारी आवागमन बन्द गरिएको छ । सडक फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा शुक्रवार बसेको सर्वपक्षिय बैठकले भिर पहरा कटान गर्नका लागि मंसिर २१ गते देखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय भएको हो ।
लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ७ खरेहादेखि वडा नं. ८ को दोबिल्ला बिचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निणर्य भएको छ ।
पर्वतको सडक खण्डमा बिहान ११ बजे देखि दिउँसो साढे २ बजे सम्म सडक बन्द निणर्य भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।
अहिलेसम्म लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको र खरेहा र चुवाको भीर तथा चुवादेखि दोविल्ला बीचको दुरीमा रहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्द गर्नुपर्ने अवस्था आएको हो ।
सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले जानकारी दिए ।
निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले रु.८३ करोड ९८ लाख रुपैयामा ठेक्का लिएको हो ।
पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ । बागलुङ्गको सिमाना मालढुंगा देखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अबस्था छ ।