मेयरको आदेशमा नदीजन्य पदार्थ उत्खनन्

617
views

परासी, २६, मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले नियम विपरीत लिखित अनुमति दिएर नदीजन्य पदार्थ उत्खनन् गर्न लगाएको पाइएको छ । त्यसरी अनुमति दिएर अवैध रुपमा उत्खनन् गर्न दिइएको नदीजन्य पदार्थ मेयर गुप्ताको आफ्नै इट्टा उद्योगको प्रयोगका लागि हो । रामग्राम नगरपालिका–१ सण्डामा सञ्चालनमा रहेको शिव शंकर इट्टा उद्योगको नाममा ५ हजार घनफिट (५० टेक्टर) भस्कट ( माटो र बालुवा मिसिएको पाँगो) खोलाबाट निकासी गर्न अनुमति दिएका हुन् ।

ढुंगा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थपन सम्बन्धी मापदण्ड २०७७ विपरीत गुप्ताले ठेक्का नै नगलागेको रामग्राम–१ सण्डास्थित झरही खोलाबाट २० दिनसम्म ३ वटा टेक्टरबाट नदीजन्य पदार्थ निकासी गर्न अनुमति दिएका हुन् । मेयर गुप्ताले नगरपालिकाको लेटर प्याडमा हस्ताक्षर गरी मंसिर १० देखि ३० गतेसम्म निकासीका लागि अनुमति दिइएका टेक्टरले दैनिक २० देखि २५ टाली भन्दाबढी नदीजन्य पदार्थ उद्योगमा पु¥याउने गरेको स्थानीयले बताएका छन् । काँचो इट्टाका लागि भस्कट प्रयोग गर्ने गरिन्छ ।

उद्योगलाई अनुमति दिएका मेयर गुप्ताले भने स्थानीयलाई नदीजन्य पदार्थ निकासीका लागि अनुमति माग्न जाँदा दिन नमिल्ने भन्दै फकाई दिने गरेको स्थानीय बृजेन्द्र कुमार गुप्ताले बताए ।‘गाउँमा घर बनाएकाहरुले जग पुर्नका लागि भस्कट माग्दा नियमले मिल्दैन भन्दै मेयरले फर्काउने गरेका छन् । आफ्नो उद्योगमा भने दैनिक रुपमा टेक्टरले बोकी रहेका छन् । ’ बृजेन्द्रले भने । नगर क्षेत्रमा ३ वटा खोला छन् । बञ्जरियास्थित तुरिया खोला बाहेक झरही र भलुही खोलाको ठेक्का नलागेको नगरपालिकाले जनाएको छ ।

नदीजन्य पदार्थ उत्खनन्का लागि कसैलाई पनि अनुमति दिने भनेर कार्यपालिकाबाट समेत निर्णय नभएको अनुगमन समितिका संयोजक एंव उपप्रमुख रम्भा कुँवरले बताईन् । जिल्ला अनुगमन समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले स्थानीय तह आफंैले त्यसरी नदीजन्य पदार्थ निकासीका लागि अनुमति दिन नमिल्ने बताए । ‘ ढुंगा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थपन सम्बन्धी मापदण्ड २०७७ अनुसार आफूखुसी स्थानीय तहले अनुमति दिन मिल्दैन ।

त्यो सरासर नियम विपरीत हो । नदीका कारण विपद् निम्तीन सक्ने भए जिल्ला अनुगमन समितिको बैठकले निर्णय गरेर दिन सकिन्छ । जिल्लामा कुनै पनि तहलाई त्यसरी अनुमति दिइएको छैन । ’ जिसस प्रमुख रायले भने । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले मेयरको अनुमतिले नदीजन्य पदार्थ उत्खनन् गर्न नपाईने बताए । नियम विपरीत त्यसरी उत्खनन् गर्ने टेक्टरलाई प्रहरी पठाएर पक्राउ गरी कारबाही प्रकृया अघि बढाउने उनले बताए ।