प्यासेन्जरलाई फूल दिंदा प्याराग्लाइडिङ दुर्घटना

675
views

पोखरा, २७, मंसिर । यही मंसिर ८ गते पोखरामा दुर्घटनामा परेको फिष्टेल नेपालको प्याराग्लाइडिङ घटनाको ३ सदस्यीय छानविन समिति गठन गरिएको छ । कोभिड–१९ का महामारीबीच पनि आन्तरिक पर्यटकले निकै रुचाएको प्याराग्लाइडिङ उडानमा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएपछि दुर्घटनाको सत्यतथ्य बुझ्न छानविन समिति गठन गरिएको हो ।

दुर्घटनामा टेन्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन समिति गठन गरेको हो । प्राधिकरणका एयर ट्राफिक सर्भिस अफिसर अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानविन समिति गठन गरेको हो । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ ।

त्योसँगै प्राधिकरणले नेपाल हवाई खेलकूद संस्था (एनएए) लाई पनि दुर्घटनाका बारेमा जवाफ मागेको थियो । झण्डै २ दशकदेखि प्याराग्लाइडिङको क्षेत्रमा क्रियाशील रहेको एनएएले पछिल्लो दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्षसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ ।

एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समितिले उक्त दुर्घटनाका विभिन्न पक्षको प्रक्रियागत अध्ययन गरी बुझाएको प्रतिवेदनको अन्तिम निष्कर्षमा ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पिडमा झरी दुर्घटना भएको’ उल्लेख गरिएको छ ।