पर्वत, २, पुष । पर्वतबाट क्रियाशिल रुपमा विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका पत्रकार महेन्द्र केसीको निधन भएको छ । नेपाल टेलिभिजनका पर्वत समाचारदाता समेत रहेका पत्रकार केसी साहारापाटी टिभी युट्युव च्यानलका प्रमुख समेत रहेका थिए ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ निवासी पत्रकार केसी हरियो सर्पको टोकाईपछि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा उपचार गराई रहेका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
पत्रकार केसीका आमा र श्रीमती हुनुहुन्छ । पत्रकार केसीको राजधानीमा अन्त्येष्टि गरिने बताईएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ पर्वतले एक शोक बक्तव्य प्रकाशित गरि पत्रकार महेन्द्र केसीको निधनले सिंगो पत्रकारिता क्षेत्रमा अपुरणिय क्षति पुगेको जनाएको छ ।
साथै महासंघले मृतात्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । पत्रकार केसी नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश प्रतिनिधि समेत रहेका थिए ।