उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न पक्राउ

377
views

उदयपुर। उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा खड्का रहेका छन् ।

गत मंसिर १९ गते अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि प्रहरीमा निवेदन परेका कारण बिहीबार अभिावकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख दाहालले बताए । राधा खड्काकी छोरी १६ वर्षीया गोमा खड्का र पुष्प कोइरालाका छोरा २३ वर्षीय आश्विन कोइरालाबीच अभिभावकको उपस्थितिमा लुकीछिपी विवाह भएको प्रहरीले बताएको छ ।

त्यसैगरी भागेर मन्दिरमा गई आफैँले सिन्दुर पोते गरेर बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भागेर आफूखुशी बालविवाह गर्ने जोडी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ सुकौराकी १६ वर्षीया खेली कार्की र अर्का उदयपुर गढी गाउँपालिका–६ भुमरेको १८ वर्षीय दुर्गाबहादुर खड्का रहेका छन् ।

दुवै जोडीले गत मंसिर २८ मा गाउँकै एक मन्दिरमा गएर विवाह गरेपछि उदयपुर गढीको वडा नं ६ स्थित नेपालटार बजारमा बेहुलाका दिदी सुनिता फुँयालको घरमा लुकीछिपी बस्दै आएका थिए ।

पक्राउ परेका बालविवाहका जोडीलाई प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।