वीरगन्ज । तल्लो जातको केटासँग लागेको भन्दै पर्सामाआफ्नै बुवा(आमाले छोरीको जलाएर हत्या गरेको रहस्य बाहिर आएको छ । पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ८ रामनगरी गाँउमा गत कार्तिक २९ गते लक्ष्मीपूजाका दिन भएको आगलागीमा परी १५ वर्षीया बालिकाको मृत्यु भएको भनिएको घटनामा आमाबुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको रहस्य अहिले खुलेको हो ।
कात्तिक २९ गते लक्ष्मीपूजाका दिन रामनगरीमा राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको थियो ।
आगलागी भएका दिन प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि घरभित्र भने माना कुमारीको शव जलेको अवस्थामा भेटिएको थियो ।
त्यसबेला बुवाआमाले माना निदाएकै अवस्थामा घरमा आगो लागेर जलेर मरेको भन्ने दाबी गरेका थिए । तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले घरमा लागेको आगो र शवको प्रकृति हेरेपछि शंका लागेर अनुसन्धान सुरु गरेका थिए ।
अनुसन्धानका क्रममा मानाको जलाएर हत्या गरिएको वास्तविकता पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
अनुसन्धानका क्रममा छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल रहेको र छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको पत्ता लागेपछि प्रहरीलाई आशंका लागेर अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुलेको प्रहरी निरीक्षक थापाले बताए ।
मृतक बालिकाकी भाउजु मनिषा देवीले पनि नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् ।
हत्याकी आरोपित मध्येका लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको आमा लालमतिले स्वीकारेको प्रहरीले जनाएको छ ।
लालमतीका श्रीमान मनाबोध अहिले फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अन्नपुर्ण पोष्टबाट