सडकमा बोलेका कुराले अदालत प्रभावित हुँदैन : प्रधानन्यायाधीश

817
views

काठमाडौं, ७, माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सत्तारुढ दलका नेताहरूले बाहिर बोलेको अभिव्यक्तिले अदालत प्रभावित नहुने बताए ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस सुनुवाइको क्रममा बुधबार प्रधानन्यायाधीश राणाले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने स्पस्ट पारेका हुन् ।

संसद पुनर्स्थापना हुनै सक्दैन भनी प्रधानमन्त्री केपी ओलीलगायतका सत्तरुढ दलका नेताहरूले सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेको प्रसंग अघि सार्दै रिट निवेदक पक्षका वकिलले यस्ता अभिव्यक्ति र गतिविधिमा रोक लगाउन इजलासको ध्यानकर्षण गरेपछि प्रधानन्यायाधीश राणाले यस्तो बताएका हु्न् ।

रिट निवेदकका तर्फबाट बहस गरिरहेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी ओलीले संसद पुनस्थापना हुँदैन भनि दिएको प्रसंगमा न्यौपानेको जिकिरलाई रोक्दै प्रधानन्यायाधीश रणाले भने, ’बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं ।’

बुधबार वरिष्ठ अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारीलगायत ६ जनाले संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा बहस गरेका थिए ।