नेकपा विभाजनले मान्यता पाएन्

433
views

काठमाडौं, १२, माघ । निर्वाचन आयोगले नेकपाको प्रचण्ड– माधव समुह र ओली समुहलाई आधिकारिक दल मान्न नसक्ने निर्णय गरेको छ । विभाजित ओली समुह र प्रचण्ड–माधव समुहले दल मान्यताका लागि पेश गरेको कागजपत्र पर्याप्त नभएको भन्दै आयोगले मान्यता दिन अस्विकार गरेको हो ।

संसद विघटनपछि विवाद उत्कर्षमा पुग्दा दुई समुहमा विभाजित भएर दुवै पक्षले आफू आधिकारिक भएको दावी गर्दै अयोगमा कागजपत्र पेश गरेका थिए । आयोगको आइतबार बसेको बैठकले साविककै विवरण कायम हुने भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारी दिने निर्णय गरेको हो ।

‘नेकपाको विवरणमा परिवर्तन, संशोधन र हेरफेर हुन सक्ने देखिएन’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ‘प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल र माधवकुमार नेपाल पक्षले अलग–अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगको निष्कर्ष हो ।’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको उपस्थितिमा बैठक बसेको थियो ।