प्रदेश १ को बैठक एक साताका लागि स्थगित

786
views

काठमाडौ, २६, माघ । प्रदेश १ को विवाद उत्कर्षमा पुगेको छ । सत्तापक्षकै अवरोध भएपछि प्रदेशसभा बैठक एक साताका लागि स्थगीत गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश हुने भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक स्थगित भएको हो ।

आइतबार अपरान्ह बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री राई पक्षधरले उठेर विरोध जनाएका थिए ।

सत्तापक्षका सांसदहरुले निलम्वन गरिएका १६ जनाको विषय टुंगो नलागेसम्म सदन चल्न नसक्ने भन्दै विरोध गरका हुन ।

उनीहरुले बैठकको कामकारवाही अघि नबढाउन सभामुख समक्ष आग्रह गरेका थिए । सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक एक साताका लागि स्थगित गरिएको हो ।

बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहे पनि अवरोधका कारण पेस हुन सकेन । अर्को बैठक फागुन ९ गतेका लागि तोकिएको छ ।