व्यवस्थापन समिति गठन नहुँदा शिक्षा शाखामा ताला

1099
views

पर्वत, ४, फागुन । मोदी गाउँपालिका–६ तिलाहारस्थित नवजागृति माविमा विद्यालय व्यस्थापन समिति गठन नभएपछि अभिभावकले तालाबन्दी गरेका छन् ।

मोदी गाउँपालिका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्ष सदस्य रहेको समितिले व्यवस्थापन समिति गठनमा ढिलाई गरेपछि तत्काल व्यवस्थापन समिति गठन गर्न माग गर्दै आएका अभिभावकहरुले शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

मोदी गाउँपालिका शिक्षा शाखाले सहमतिमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने भन्दै ढिलाई गरेपछि व्यवस्थापन समिति गठनमा भएको जालझेल उजागार गर्न तालाबन्दी गरेको अभिभावक एवं समाजसेवी दिपेन्न्द्र जंग लामिछानेले बताए ।

लामिछानेले विद्यालयमा तत्काल विद्यालय व्यवस्थापन समिति गठनको माग गरिएको बताउँदै भने ‘शिक्षा शाखा प्रमुखलाई विद्यालय व्यवस्थापन समिति गठनमा सहमति नभए चुनावबाटै समिति चयन गर्न माग गर्यौं, तर, उहाँले ढिलाई गर्नुभयो, सहमति नभए चुनावी प्रक्रिया थाल्न आग्रह गर्दापनि सहमति भन्दै समय लगाउनुपर्ने उहाँको वाध्यता के रु थाहा पाउन पनि तालाबन्दी गर्यौं ।’

नवजागृति माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा ढिलाई हुँदा कार्यालयमा ताला लगाएपछि मोदी गाउँपालिकाको शिक्षा शाखा झस्किएको छ ।

मोदी गाउँपालिकाका शिक्षा शाखा प्रमुख झक प्रसाद गौतमले सहमतिमा व्यवस्थापन गर्न नसकेपछि चुनावी प्रक्रियाबाटै व्यवस्थापन समिति गठनमा लागि परेको बताए ।

उनले आफ्ना केही कम्जोरीले आफ्नै कार्यालयमा ताला लागेको स्विकार गर्दै केही दिनमा चुनावबाटै भएपनि विद्यालय व्यवस्थापन समिति गठन गर्ने जानकारी दिए ।

निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछानेले सत्तापक्षिय ओली नेकपाको दबाबमा विद्यालय व्यवस्थापन समिति गठनमा राजनीति जालेझेल हुँदा व्यवस्थापन समिति गठनमा ढिलाई भएको र अभिभावकहरुले तालाबन्दी गर्न बाध्य भएको बताए ।

लामिछानेले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा राजनीतिक भागबण्डाको मागले व्यवस्थापन समिति गठनमा ढिलाई भएको र विद्यालयको प्रशासनिक कामहरु अवरुद्ध बनेको बताए ।

विद्यालय व्यवस्थापन समिति गठन नहुँदा विद्यालयको वार्षिक उत्सवमा समेत अभिभावहरुको उपस्थिति थिएन ।